Monday, December 26, 2016

गजल

मदिरा पिए  गल्ती  के भो ?
आँशुनै दिए  गल्ती  के भो ?

चाहिन  साथ  कसैको नी
एक्लो भै जिए गल्ती  के भो ?

भन्छौ नी खोटो सिक्का सधै 
सहँदै  खिए  गल्ती  के भो ?

फाट्यो यो मुटु रुखो बोल्यौ
हाँसेरै सिए गल्ती  के भो ?

दियौ नी तिम्ले प्रित् को चोट
खुशीले  लिए गल्ती  के भो ?
बसु श्रेष्ठ 
भैरहवा 

Sunday, November 20, 2016

गजल

मलाई त तिम्रो बानी परेछ क्यारे
त्यसैले खुशी को आँशु झरेछ क्यारे !

हाँस्दा बोल्दा थाहा पनी पाईन मैले 
सुटुक्कै दिल तिमीमा सरेछ क्यारे !

उर्लिदै छन् मन भीत्र तरंगित छाल 
यो मन ले प्रेम गंगा तरेछ क्यारे !

थियो खाली पाना सरी मेरो जिन्दगी
हर पाना तिम्रो नाम् ले भरेछ क्यारे !

आज रोयो अचानक् यो पागल मन 
तिम्लाई पाउने आशा मरेछ क्यारे !

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Thursday, November 10, 2016

गजल

भो भो नगर त्यो हाम्रो रमाइलो रातको कुरा
आलिंगन मा बाधिएर गरेको बातको कुरा !!

जुनेली त्यो रातमा आँखा र आँखा जुधाएर
नसम्झाउ मातिएको हाम्रा ति साथको कुरा !!

रंगिन ती प्रहरले सजिएका थिए पल हरु
बेहोस भै हराएको अचम्मित मातको कुरा !!

शिर राखी काखमा तिम्रो मुस्कुराउदा खेरी
घायल नै बनाउने नशालु त्यो घातको कुरा !!

लाजले तिम्रो छाती सँगै मुहार लुकाउदा
मायालु ती स्पर्सले भरिएको खातको कुरा !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Friday, September 16, 2016

"प्रेम छैन "


तिमी भन्छौ मलाई प्रेम छैन
हो फेरी किन हुन्छौ कल्पना मा ?
यी फुलबारी डुल्ने भंवरामा
हत्केलाको मेहंदिको गाढा रंगमा
मलाई छोएर जाने बतासको स्पर्शमा ?
फेरी पनि भन्छौ प्रेम छैन ?
जबजब लहराउछ मेरा केशहरु
तब तब तिम्रो औलाको जुम्बिस आभाष हुन्छ
कतै तिम्रो यो स्पर्श आभाषको मोती
भुइमा खसी छरिएर न जावोस
त्यो डरले आफ्नो हत्केलामा थामी
स्पर्शी काउकुती अनुभुती गर्छु
कसरी भन्छौ प्रेम छैन ?
कहिले काही रात लामो लाग्न थाल्छ
तब यी दन्दनी दन्किरहेको
अधरको तापमा तिमीलाई पाउछु
रात सकिएर जब सुर्यको हुन्छ आगमन
त्यो पहिलो किरणको लालिमा देख्छु प्रतिबिम्ब तिम्रो
मध्यान्न घाम अनि घना रुखको छाँया
लाग्छ तिम्रो शितल छहारीमा छु
फेरी पनि भन्छौ प्रेम छैन?
दुई हात जोड्छु भगवान सामु
म बिर्सन्छु प्राथना शब्द मात्र नाम तिम्रो आउछ
भुलिसके आफ्नो आफन्त
याद छ त मात्र तिमी नै तिमी
पुजेकीछु देव मानेर तिमीलाई
जो कहिले कसैको नहोस भनी
जब म तिमी सामु बिन्ति चढाउछु
तिमी भन्छौ प्रेम छैन
मात्र फेरी फेरी भन्छौ प्रेम छैन !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

Sunday, January 17, 2016

अधुरो प्रेम

जाडो याम बिहान ४.३० बजे घडीको आलरम बज्छ म हतार हतार उठ्छु अनी नित्यकर्म सकेर तयार हुन्छु  !ओहो एक घण्टा छ ट्युसन सम्म पुग्नको लागी, अनी छिटो छिटो घरबाट निस्किएर सुमीको घर पुगेर बेल बजाउछु ! उनि निस्किन्छिन साथमा दुवै बाटो लाग्छौ ! बाटोमा गणेश मन्दिर आउछ त्यहाँ ठुलो घण्टा छ बजाउछु  मैले  तीनपटक कसैलाई मेरो आगमनको सुचना दिन !
हो मेरो अनिशको लागी त्यो मन्दिर दर्शनको निहुमा तिन पटक टंग टंग टंग घण्टा बजाउथे किन कि हाम्रो भेट्ने समय भनेको नै त्यही बिहानीमा थियो ! दिउसो त यो समाजको र परिवारको डर कहाँ अहिले जस्तो डेटिग भन्ने चलन हुनु ! एकअर्कालाई हेरेर नै चित्त बुझाउनु पर्ने बाध्यता दिनै देख्ने मान्छेलाई मनको कुरा पत्रमा लेखिन्थ्यो ! आहा त्यो प्रेम कती निश्चल पबित्र र अनौठो हुन्थ्यो ! न बनावटी अंग्रेजी शब्दमा आइ लभ यु को आवश्यकता न कुनै महंगा उपहारको चाहना थियो बस एक झलक को लालच मात्र !
यसरी नै प्रेम कोपिलाबाट फक्रिदै थियो हाम्रो भेट सात महिना अगाडी मात्र भएको थियो ! अनिश भर्खर मात्र काठमाण्डौ बाट पढाई सकेर आफ्नो घर रुपन्देही फर्केको थियो !
एकदिन म साथीहरु सित कुरागर्दै हिडिरहेको थिए अचानक शेरचन होटेल बाहिर कसैको चर्को हाँसो सुने मैले त्यहा हेर्दा एक गहुगोरो वर्णको ६ फिट अग्लो दुब्लो युवकले मलाई हेरिरहेको थियो हाम्रो नजर जुध्यो !
मलाइ असजिलो लागेर म टाउको घुमाएर अगाडी बढे तर फेरी किन हो फर्केर हेर्न मन लाग्यो र फर्की हेरे अझै पनी उसले मै तिर हेरिरहेको थियो, हो त्यही दिन देखी मायाको अंकुर फुटेको थियो हामी दुइको मनमा र यसरी नै हाम्रो प्रेम कहानी शुरु भएको थियो !
 एकदिनको कुरा त्यो रमाइलो मौसम न घाम लागेको थियो न पानी नै पर्न सकेको थियो, अनिश सेतो सर्ट र क्रिम रंगको पेन्टमा टाढाबाट आउदै थियो ! यती सुन्दर मनमोहक देखे  कि त्यही दिन मैले आफ्नो सपनाको राजकुमार बिपनामा मै भेटेको आभाष गरे ! साच्चै नै त्यो लुगा अनिशलाई सुहाएको थियो वा मेरो मन चंचल अथवा मौसमको दोष थियो बुझ्न सकिन  ! उ नजिक आएर के छ सन्चै छौ भनेर सोध्दा झसंग भए ,तर मेरो गाला लाजले रातो भएर शीर निहुराएर हजुर ठिक छु भने ! त्यो पल र त्यो मौसम कहिले बिर्सन नसक्ने भयो मेरो जीवनको अविस्मरणीय रह्यो !
यसरी नै हाम्रो निस्वार्थ प्रेम अगाडी बढिरहेको तिन बर्ष भैसकेको थियो अचानक मेरो जीवनमा आंधी आयो !
मैले आफ्नो साथी बाट सुने कि उ लागु औषधी सेवनको  कुलतमा फसेको रहेछ,प्रहरी लाइ हातपात गरेको अभियोगमा थुनामा परेको छ ! मैले त्यो बिश्वास गर्न सकिन तर त्यो सत्य रहेछ मेरो आँखामा कालो बादल छायो,मैले सजाएको सपना का महलहरु भत्कियो ! न म भेटेर उसलाई सम्झाउन सक्थे किन कि हाम्रो जती कुरा हुन्थ्यो बस पत्रमा हुन्थ्यो ! अनि मैले उसलाई पत्र लेखे
प्रिय अनिश
मनभरिको सम्झना
    ... हजुर यसरी कुलतमा लाग्नु भएको थाहा थिएन आज अचानक थाहा पाउदा म छाँगा बाट खसे ! किन मेरो माया मा केहि कमी थियो कि या कुनै पींडा थियो हजुरलाई नशा सेवन गर्न बाध्य बनायो ?
मलाई जिन्दगि भरी साथ् दिन्छु तिमी बाहेक मेरो जीवनमा कोही हुने छैन भन्नु हुन्थ्यो !  पहिला तिमी राम्रो सित पढ म पनी आफ्नो खुट्टामा उभिन्छु अनी तिमीलाई तिम्रो बुवा ममी सित मागेर बिहे गर्छु भनेर भन्नु भएको थियो ! अब त हजुरको यो कारणले ममी बुवाले पनी दिनु हुन्न म हजुर बाहेक अरुको बारेमा सोच्न पनी सक्दिन म के गरु किन एस्तो गलत बाटो लाग्नु भएको ? अब कसरि माग्न आउनु हुन्छ ? थुनामा परिसकेको केटा लाइ कसरि दिनु हुन्छ र? तर जे भयो भयो अब आफुलाई सुधार्ने कोशिस गर्नुस नशा बाट निस्किनुस , भागेर भए पनी बिहे गर्न तयार छु यदी घरकोले दिएनन् भने तर पहिला आफुलाई नशा बाट टाढा राख्नुस, हजुर लाइ म पर्खिनेछु चाहे १०,१२ बर्ष भए पनी आशा र भरोशा को साथमा !
उही हजुरको
रोशनी
अनी पत्र उसैको बहिनीको हातमा दिएर ठुलो आशाको साथमा घर फर्किए ! त्यसको दुई दिन पछि जवाफ पाए बन्द खाम मा म हतार हतार आफ्नो कोठाको छिस्किनी लगाएर खाम च्यातेर पत्र पढ्न थाले ! मैले एक्कासी चारै तिर अन्धकार देखे मैले टेकेको कोठाको भुइ भासिए जस्तो भयो र म थचक्क बसेर खुब रोए !
पत्रको जवाब यसप्रकार थियो
प्यारी रोशी
सप्रेम
.खासै म केहि भन्न चाहन्न हो म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु तर म यो नशा बाट बाहिर निस्किन सक्दिन मेरो जिन्दगी नशा बनिसक्यो,तिमी बिना जिउन सक्छु तर नशा बिना म सास लिन पनी सक्दिन ! सपना देखाएको थिए तिमीलाई मैले पनी देखेको थिए तर मलाई माफ गरिदेउ तिमीलाई मैले मेरो जीवनमा ल्याएर दुख र आँशु दिन चाहन्न र मेरो प्रतिक्षा पनी नगर ! तिमी अगाडी बढ बुवा ममीले रोज्नु भएको केटा सित बिहे गरेर मलाई सपना सम्झिएर बिर्सिदेउ
तिमीलाई बीच बाटोमा छोडी हिडेको
उही दोषी अनिश
हो त्यही दिन हाम्रो प्रेमको अन्त्य भएको थियो साएद मैले चाहेर पनी उसलाई भेट्न सकिन ! उसले मलाई भेट्न खोज्यो वा खोजेन थाहा भएन किन कि म उसलाई बिर्सन पढाइको बहानामा काठमान्डौ आएर पढ्न थाले ! दुई बर्ष पछि सुनेकी थिए उसलाई सुधार केन्द्रमा लगिएकोछ भन्ने ! यो सुनेर फेरी मेरो मुटु चिरियो तर म आँशु लाइ भित्र भित्र नै पिए ! यसरी नै मेरो प्रेम फक्रिदा फक्रिदै ओइलाएर झर्यो लेख्दै गरेको प्रेम कथा अधुरो रह्यो अपुरो रह्यो !
'समाप्त'

गरीब

उज्यालो निलो आकाश
सुर्यको राप तप्तपाएको धर्ती
हजारौ आशा बोकी
पक्का आज त 
मेरो भोको पेटको तड़पन लाइ 
शान्त गर्न सक्छु
म हुनुको पहिचान 
आफ्नो अस्तित्व र स्वामित्व माथी
 गौरवान्त गर्न सक्छु !

म केहि जिन्दगी खोज्न सकु 
म केही जिन्दगीलाई संभार गर्न सकु 
आफ्नो कर्तब्य,निष्ठा पुरा गर्न सकु
मेरो जिम्मेवारी लाइ 
आत्मसात गर्न सकु
मेहनतले पेटको आतंकलाइ
शान्त गर्नसकु 
आफन्तको मुहारमा खुशी
सन्तुष्टी र आनन्दका भावमा
म रमाउन सकु
म त्यहाँ जिउन सकु !

यस्तै एस्तै आशा र सपनाको साथ
म घरको दलिन नाघी निस्कन्छु
अली पर पुग्छु फर्की हेर्छु
उदांगिएको छानो
पुरानो जस्ताले
कहिँ कतै आधा छोपेको 
पत्रिकाले छोपेका भित्ताहरु
टुटेफुटेको उघारिएको दलिन
मलाई आशाले हेरिरहेको हुन्छ !

म आश्वासन दिन्छु 
उदांगिएको छानो टाल्नेछु 
फुटेको दलिन जोड्नेछु
भित्ताहरु रंगाउनेछु
अवश्य तेरो आशा पुरा हुनेछ
भन्दै म मनमनै गुनगुनाउदै  
निस्कन्छु म
मेरो गरिबी बेच्न शहर बजारमा 
मेरो लाचारी बेच्न शहरमा बजारमा !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Saturday, October 3, 2015

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित
---------------------------------------
असोज १५, काठमाडौं ।
नेपाल मुक्तक प्रतिष्ठानकी आजीवन सदस्य एवं प्रतिष्ठानको इजरायल शाखाकी सदस्य मुक्तककार बसु श्रेष्ठको प्रथम नवीनतम मुक्तक कृति" प्यासी जिन्दगी " को नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्त र कृतिकारका माता पिता विष्णुप्रसाद श्रेष्ठ भगवतीदेवी श्रेष्ठले संयुक्त रूपमा शुक्रबार सिद्धार्थ कटेज काठमाडौंमा विमोचन गर्नु भयो । छोको कृति विमोचनका लागि सोही दिन माता पिता भैरहवाकाट काठमाडौं आउनु भएको थियो । प्रतिष्ठानका सचिव बादल घिमिरेको सूत्रधारीमा सञ्चालित समारोहमा मञ्चाशिन अतिथिहरुमा प्रतिष्ठानको प्रतीक चिन्ह अंकित खादा सदस्य कल्पना श्रेष्ठले ओढाउनु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानकी कोषाध्यक्ष निशा के.सी.ले दिनु भएको थियो ।
विमोचन समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरेपछि प्यासी जिन्दगीको विमोचन भयो । मुक्तककार हरि मानन्धर र उमा गौतमले विमोचित कृतिबाट केही मुक्तक सुनाउनु भयो । मुक्तककार मानन्धरले बसु श्रेष्ठको लेखन र इजरायलको साहित्यिक माहौलका बारेमा जानकारी दिनु भएको थियो । इजरायलमै रहनु भएकी मुक्तककार बसु श्रेष्ठले अनलाईनबाटै सम्वोधन गरेपछि समारोह स्थल स्तब्ध बनेको थियो भने कृतिकारका माता पिता गहभरि आँसु लुकाइरहनु भएको थियो । कृतिकार छोरीको सम्वोधन पछि पिता विष्णुप्रसाद श्रेष्ठ रोष्ट्रममा उभिएर छोरी सानी छँदका दिनहरूको याद गर्दै छोरीले नसोचेको खुशी दिईन् भन्नु भयो । साहित्य र संगीतमा सौखिन पिताजीले भजन शैलीमा छोरीमै समर्पित गीत सुनाउनु भयो । विमोचित कृतिका समीक्षक बरिष्ठ मुक्तककार तथा प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेलले बसु श्रेष्ठका मुक्तक प्रणय भावले भरिएका छन् भन्दै इजरायलमा अहिले मुक्तकको प्रभाव जमेकोमा हर्ष व्यक्त गर्नु भयो । प्रतिष्ठानका महासचिव रमेश पौडेलले बसु श्रेष्ठका मुक्तक के कस्ता छन् सबै भूमिकामै लेखिसकेको छु भन्दै नेपाली मुक्तक संसारमा मुक्तककारलाई बधाई दिनु भयो । महासचिव पौडेलले बोल्दा बोल्दै कृतिकारका माता पितालाई एकै छिन उठिदिन आग्रह गर्दै सर्पर्राईज चिनो आवरण कलाको उडमाउण्ट प्रदान गर्नु भयो ।
समारोहका विशेष अतिथि प्राज्ञा श्रवण मुकारुङले इजरायलबाट छोरी बोलिरहँदा आमाले छोरीको आवाज घरमा लगेर सधैँ सुन्न मिल्छ बाबु
भनेर कानेखुशी गरेको रहस्योद्घाटन गर्दा समारोह स्थल रोमाञ्चक बनेको थियो ।बसुको आमाले मलाई कानमा खुसुक्क सोधेको कुरा मुक्तकमा व्यक्त गर्न कठिन छ भन्नु भयो । समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले अफ्नो जिन्दगीको पहिलो कृति नै मुक्तक संग्रह भएकोले आज आफ्ना लागि पनि हर्षको दिन भएको बताउनु भयो । उहाँले थप्नु भयो प्रवासको साहित्यको मूल्याङ्क हुन ढिला भइसक्यो । यस विषयमा के गर्न सकिन्छ सोचिरहेछु । यही बीचमा बसुकी माता भगवतीदेवी श्रेष्ठले महासचिव पौडेललाई हातकोर् इसाराले बोलाएर बाबु मलाई पनि बोल्न मन लाग्यो भन्नु भएपछि रोष्ट्रममा उभिएर आँखाभरि खुशी भर्दै छोरीलाई बधाई र शुभ कामना दिनु भयो । त्यसपछि आधा मूल्यमा पुस्तक वितरण गर्ने जानकारी सचिव बादल घिमिरे दिँदै हुनुहुन्थ्यो यातायातको यस्तो प्रतिकूल समयमा कहाँदेखि हिँडेर आएका पाहुनालाई निशुल्क वितरण गरौँ भन्ने सल्लाह मञ्चमा भएपछि प्रतिष्ठानकी सदस्य कल्पना श्रेष्ठ र कृतिकारी बहिनी कविता श्रेष्ठले सबै पाहुनालाई किताव हात हातमै थमाउनु भयो ।
समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले
सवारी साधनन नचलेको बेलामा पनि हल भरिएको देखेर सबैलाई धन्यवाद दिँदै विमोचन समारोह सोचेभन्दा बढी भव्य र सभ्य भएको बताउनु भयो । उहाँले थप्नु भयो अब नेपाली मुक्तकको थिति बसी सकेकोछ । प्रतिष्ठानको इजरायल शाखाको सक्रियतालाई धन्यवाद दिँदै प्रतिष्ठानको भावी कार्यक्रमका बारेमा जानकारी दिँदै सभा विसर्जन भएको घोषणा गर्नु भयो । सामुहिक तस्विर लिएपछि अतिथिहरूलाई जलपान गर्राई विदाई गरिएको थियो । मुक्तककार बसु श्रेष्ठलाई नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रका तर्फबाट हार्दिक बधाई तथा शुभ कामना ।















Wednesday, August 19, 2015

गजल के हो र कसरी लेख्ने

‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि ‘वारम्वार आऊने’ नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा ‘वारम्वार आऊने’ वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं


नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)
आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको “प्र” आधारको “आ” बिचारको “बि” सरोकारको “सरो” र अवतारको “अव” ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)
उपरोक्त गजलमा संसारको ‘सं’, जङ्घारको ‘जङ्’,वजारको’व’कारागारको ‘कारा’ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा ‘सी’,'दी’,'री’,'गी’,'पी’ आदि एकाक्षरी काफिया हुन् ।
‘घ’ मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि

मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि

वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु

तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी

दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा

के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा

कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका ‘पनि’,'वबी’,'दन्दनी’,'हुन्छ नी’, ‘शनि’,'खनी’ र ‘महाधनी’ मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल “छ” शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ “जस्तो छ” दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ

मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु

“तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी”

“धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्”
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।

Thursday, August 13, 2015

बिश्व नेपाली साहित्य महासंघ शाखा ले २०१ भानु जयन्ती यसरी मनायो

Sunday, July 26, 2015

भानु गजल

भानु गजल
भानु तिमीले हामी नेपाली लाइ' ठुलो गुन दिएर गयौ 
हाम्रो अमुल्य पहिचान भाषा तिम्ले सुन दिएर गयौ !!

अन्धकारमा थियो भेषभूषा, भाषासाहित्य अनि संस्कृती
तीनै सबै हटाई नेपाल लाइ, तिमी जुन दिएर गयौ !!

भाषासाहित्य बिना यो नेपाल,जस्तै खल्लो तरकारी
तिमीले त्यो तरकारी लाइ थोरै नुन दिएर गयौ !!

सोच्न नसक्ने संगीत बिनाको यो हाम्रो राष्ट्रिय गित
त्यसमा शुर ताल सहितको मिठो धुन दिएर गयौ !!

पक्कै बेरंगी हुने थियौ हामी अनी हाम्रो सम्पदा हरु
भानु तिमीले शान्तिको प्रतिक सेतो चुन दिएर गयौ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

राष्ट्रिय बिभुती भानुभक्तको २०१ जन्म  जयन्ती यसरी मनाइयो केहि तस्बिर हरु