Saturday, October 3, 2015

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित
---------------------------------------
असोज १५, काठमाडौं ।
नेपाल मुक्तक प्रतिष्ठानकी आजीवन सदस्य एवं प्रतिष्ठानको इजरायल शाखाकी सदस्य मुक्तककार बसु श्रेष्ठको प्रथम नवीनतम मुक्तक कृति" प्यासी जिन्दगी " को नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्त र कृतिकारका माता पिता विष्णुप्रसाद श्रेष्ठ भगवतीदेवी श्रेष्ठले संयुक्त रूपमा शुक्रबार सिद्धार्थ कटेज काठमाडौंमा विमोचन गर्नु भयो । छोको कृति विमोचनका लागि सोही दिन माता पिता भैरहवाकाट काठमाडौं आउनु भएको थियो । प्रतिष्ठानका सचिव बादल घिमिरेको सूत्रधारीमा सञ्चालित समारोहमा मञ्चाशिन अतिथिहरुमा प्रतिष्ठानको प्रतीक चिन्ह अंकित खादा सदस्य कल्पना श्रेष्ठले ओढाउनु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानकी कोषाध्यक्ष निशा के.सी.ले दिनु भएको थियो ।
विमोचन समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरेपछि प्यासी जिन्दगीको विमोचन भयो । मुक्तककार हरि मानन्धर र उमा गौतमले विमोचित कृतिबाट केही मुक्तक सुनाउनु भयो । मुक्तककार मानन्धरले बसु श्रेष्ठको लेखन र इजरायलको साहित्यिक माहौलका बारेमा जानकारी दिनु भएको थियो । इजरायलमै रहनु भएकी मुक्तककार बसु श्रेष्ठले अनलाईनबाटै सम्वोधन गरेपछि समारोह स्थल स्तब्ध बनेको थियो भने कृतिकारका माता पिता गहभरि आँसु लुकाइरहनु भएको थियो । कृतिकार छोरीको सम्वोधन पछि पिता विष्णुप्रसाद श्रेष्ठ रोष्ट्रममा उभिएर छोरी सानी छँदका दिनहरूको याद गर्दै छोरीले नसोचेको खुशी दिईन् भन्नु भयो । साहित्य र संगीतमा सौखिन पिताजीले भजन शैलीमा छोरीमै समर्पित गीत सुनाउनु भयो । विमोचित कृतिका समीक्षक बरिष्ठ मुक्तककार तथा प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेलले बसु श्रेष्ठका मुक्तक प्रणय भावले भरिएका छन् भन्दै इजरायलमा अहिले मुक्तकको प्रभाव जमेकोमा हर्ष व्यक्त गर्नु भयो । प्रतिष्ठानका महासचिव रमेश पौडेलले बसु श्रेष्ठका मुक्तक के कस्ता छन् सबै भूमिकामै लेखिसकेको छु भन्दै नेपाली मुक्तक संसारमा मुक्तककारलाई बधाई दिनु भयो । महासचिव पौडेलले बोल्दा बोल्दै कृतिकारका माता पितालाई एकै छिन उठिदिन आग्रह गर्दै सर्पर्राईज चिनो आवरण कलाको उडमाउण्ट प्रदान गर्नु भयो ।
समारोहका विशेष अतिथि प्राज्ञा श्रवण मुकारुङले इजरायलबाट छोरी बोलिरहँदा आमाले छोरीको आवाज घरमा लगेर सधैँ सुन्न मिल्छ बाबु
भनेर कानेखुशी गरेको रहस्योद्घाटन गर्दा समारोह स्थल रोमाञ्चक बनेको थियो ।बसुको आमाले मलाई कानमा खुसुक्क सोधेको कुरा मुक्तकमा व्यक्त गर्न कठिन छ भन्नु भयो । समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले अफ्नो जिन्दगीको पहिलो कृति नै मुक्तक संग्रह भएकोले आज आफ्ना लागि पनि हर्षको दिन भएको बताउनु भयो । उहाँले थप्नु भयो प्रवासको साहित्यको मूल्याङ्क हुन ढिला भइसक्यो । यस विषयमा के गर्न सकिन्छ सोचिरहेछु । यही बीचमा बसुकी माता भगवतीदेवी श्रेष्ठले महासचिव पौडेललाई हातकोर् इसाराले बोलाएर बाबु मलाई पनि बोल्न मन लाग्यो भन्नु भएपछि रोष्ट्रममा उभिएर आँखाभरि खुशी भर्दै छोरीलाई बधाई र शुभ कामना दिनु भयो । त्यसपछि आधा मूल्यमा पुस्तक वितरण गर्ने जानकारी सचिव बादल घिमिरे दिँदै हुनुहुन्थ्यो यातायातको यस्तो प्रतिकूल समयमा कहाँदेखि हिँडेर आएका पाहुनालाई निशुल्क वितरण गरौँ भन्ने सल्लाह मञ्चमा भएपछि प्रतिष्ठानकी सदस्य कल्पना श्रेष्ठ र कृतिकारी बहिनी कविता श्रेष्ठले सबै पाहुनालाई किताव हात हातमै थमाउनु भयो ।
समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले
सवारी साधनन नचलेको बेलामा पनि हल भरिएको देखेर सबैलाई धन्यवाद दिँदै विमोचन समारोह सोचेभन्दा बढी भव्य र सभ्य भएको बताउनु भयो । उहाँले थप्नु भयो अब नेपाली मुक्तकको थिति बसी सकेकोछ । प्रतिष्ठानको इजरायल शाखाको सक्रियतालाई धन्यवाद दिँदै प्रतिष्ठानको भावी कार्यक्रमका बारेमा जानकारी दिँदै सभा विसर्जन भएको घोषणा गर्नु भयो । सामुहिक तस्विर लिएपछि अतिथिहरूलाई जलपान गर्राई विदाई गरिएको थियो । मुक्तककार बसु श्रेष्ठलाई नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रका तर्फबाट हार्दिक बधाई तथा शुभ कामना ।















Wednesday, August 19, 2015

गजल के हो र कसरी लेख्ने

‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि ‘वारम्वार आऊने’ नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा ‘वारम्वार आऊने’ वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं


नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)
आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको “प्र” आधारको “आ” बिचारको “बि” सरोकारको “सरो” र अवतारको “अव” ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)
उपरोक्त गजलमा संसारको ‘सं’, जङ्घारको ‘जङ्’,वजारको’व’कारागारको ‘कारा’ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा ‘सी’,'दी’,'री’,'गी’,'पी’ आदि एकाक्षरी काफिया हुन् ।
‘घ’ मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि

मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि

वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु

तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी

दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा

के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा

कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका ‘पनि’,'वबी’,'दन्दनी’,'हुन्छ नी’, ‘शनि’,'खनी’ र ‘महाधनी’ मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल “छ” शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ “जस्तो छ” दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ

मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु

“तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी”

“धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्”
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।

Thursday, August 13, 2015

बिश्व नेपाली साहित्य महासंघ शाखा ले २०१ भानु जयन्ती यसरी मनायो

Sunday, July 26, 2015

भानु गजल

भानु गजल
भानु तिमीले हामी नेपाली लाइ' ठुलो गुन दिएर गयौ 
हाम्रो अमुल्य पहिचान भाषा तिम्ले सुन दिएर गयौ !!

अन्धकारमा थियो भेषभूषा, भाषासाहित्य अनि संस्कृती
तीनै सबै हटाई नेपाल लाइ, तिमी जुन दिएर गयौ !!

भाषासाहित्य बिना यो नेपाल,जस्तै खल्लो तरकारी
तिमीले त्यो तरकारी लाइ थोरै नुन दिएर गयौ !!

सोच्न नसक्ने संगीत बिनाको यो हाम्रो राष्ट्रिय गित
त्यसमा शुर ताल सहितको मिठो धुन दिएर गयौ !!

पक्कै बेरंगी हुने थियौ हामी अनी हाम्रो सम्पदा हरु
भानु तिमीले शान्तिको प्रतिक सेतो चुन दिएर गयौ !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

राष्ट्रिय बिभुती भानुभक्तको २०१ जन्म  जयन्ती यसरी मनाइयो केहि तस्बिर हरु 




















दयनीय महा भूकम्प

२०७२ बैसाख १२ र २९ गते
 हाम्रो देशमा अचानक 
एस्तो बिपत्ती आयो
जसले कती मानव
धन बाली को साथ 
गाँउ शहर 
नंग्याएर गयो
कती काख रित्तिए
त कती पुछिए सिउदोहरु 
अनाथ भए कती बालबालिकाहरु !!

न हतियार थियो 
न कुनै गोला बारुद
तै पनी रगताम्मे भए
नाश भयो बरबात भयो 
चारै तिर छरिए
मानब लाश हरु !
भत्किए हाम्रा 
गौरबमय सन्तती हरु 
कती सपना 
भताभुंग भयो
कती चाहना रहर छरिएर गए !!

हतास थिए जो कोही यहाँ
डर त्रासमा थर्थराएका
निर्दोष मानब यहाँ !
घर बिहिन 
छानो बिनाको जीवन
पालमा बिताउन बाध्य भए
न गाँस थियो 
न त बास नै थियो हजुर
जता ततै थिए त 
केबल डर त्रास हरु !!

बग्यो आँशुका भेल यहाँ
नारायणी गण्डकी सरह 
कहीं फेवाताल बने
त कहीँ रारा ताल जम्यो !
न भक्कानिएर रुन सक्यौ
न गुहार माग्न नै 
हेरी बस्न बाध्य भयौ
आफ्ना र आफन्तको लाश हरु !!

कस्को के नै लाग्थ्यो र 
प्रकृती को अगाडी
न छेक्न सक्थ्यौ 
न सक्थ्यौ रोक्न नै
निर्जीव नयन भए  
सजीव आत्मा थिए
हरएक मानव यहाँ
एउटा जिउदो लाश थियो !!

देउता पनी मौन रहे 
 यो दैबी प्रकोप मा
लाचार भई  हेरी बसे
आफ्ना भक्तका  
बिभतस्व अनी विवसता 
न आए देबदुत यहाँ 
न कोइ मसिहा 
मात्र आइरहे बारम्बार 
विपत्ति का मुस्लाहरु
कहिले हावाहुरी को रुपमा
कैले बाढी पहिरो बनी
बगाएर लग्यो
भत्काएर गयो
नेपाल आमाको कोखमा
पल पल लात हानेर गयो
रुवाएर गयो
मुर्छित बनाएर गयो
गरीब लाचार बनाएर गयो
टुहुरा,अपांग बनाएर गयो 
यो निर्दयी भूकम्प
यो दानबी भूकम्प !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Monday, April 20, 2015

विश्व नेपाली साहित्य महाँसंघ इजरायल शाखा द्वारा संयुक्त गजल संग्रह 'सगरमाथा देखी मृतसागर सम्म'को बिमोचन कार्यक्रम तथा नयाँ समिती चयन का केही तस्बिर हरु !