Saturday, October 3, 2015

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित

मेरो पहिलो कृती (प्यासी जिन्दगी) विमोचित
---------------------------------------
असोज १५, काठमाडौं ।
नेपाल मुक्तक प्रतिष्ठानकी आजीवन सदस्य एवं प्रतिष्ठानको इजरायल शाखाकी सदस्य मुक्तककार बसु श्रेष्ठको प्रथम नवीनतम मुक्तक कृति" प्यासी जिन्दगी " को नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्त र कृतिकारका माता पिता विष्णुप्रसाद श्रेष्ठ भगवतीदेवी श्रेष्ठले संयुक्त रूपमा शुक्रबार सिद्धार्थ कटेज काठमाडौंमा विमोचन गर्नु भयो । छोको कृति विमोचनका लागि सोही दिन माता पिता भैरहवाकाट काठमाडौं आउनु भएको थियो । प्रतिष्ठानका सचिव बादल घिमिरेको सूत्रधारीमा सञ्चालित समारोहमा मञ्चाशिन अतिथिहरुमा प्रतिष्ठानको प्रतीक चिन्ह अंकित खादा सदस्य कल्पना श्रेष्ठले ओढाउनु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानकी कोषाध्यक्ष निशा के.सी.ले दिनु भएको थियो ।
विमोचन समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरेपछि प्यासी जिन्दगीको विमोचन भयो । मुक्तककार हरि मानन्धर र उमा गौतमले विमोचित कृतिबाट केही मुक्तक सुनाउनु भयो । मुक्तककार मानन्धरले बसु श्रेष्ठको लेखन र इजरायलको साहित्यिक माहौलका बारेमा जानकारी दिनु भएको थियो । इजरायलमै रहनु भएकी मुक्तककार बसु श्रेष्ठले अनलाईनबाटै सम्वोधन गरेपछि समारोह स्थल स्तब्ध बनेको थियो भने कृतिकारका माता पिता गहभरि आँसु लुकाइरहनु भएको थियो । कृतिकार छोरीको सम्वोधन पछि पिता विष्णुप्रसाद श्रेष्ठ रोष्ट्रममा उभिएर छोरी सानी छँदका दिनहरूको याद गर्दै छोरीले नसोचेको खुशी दिईन् भन्नु भयो । साहित्य र संगीतमा सौखिन पिताजीले भजन शैलीमा छोरीमै समर्पित गीत सुनाउनु भयो । विमोचित कृतिका समीक्षक बरिष्ठ मुक्तककार तथा प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेलले बसु श्रेष्ठका मुक्तक प्रणय भावले भरिएका छन् भन्दै इजरायलमा अहिले मुक्तकको प्रभाव जमेकोमा हर्ष व्यक्त गर्नु भयो । प्रतिष्ठानका महासचिव रमेश पौडेलले बसु श्रेष्ठका मुक्तक के कस्ता छन् सबै भूमिकामै लेखिसकेको छु भन्दै नेपाली मुक्तक संसारमा मुक्तककारलाई बधाई दिनु भयो । महासचिव पौडेलले बोल्दा बोल्दै कृतिकारका माता पितालाई एकै छिन उठिदिन आग्रह गर्दै सर्पर्राईज चिनो आवरण कलाको उडमाउण्ट प्रदान गर्नु भयो ।
समारोहका विशेष अतिथि प्राज्ञा श्रवण मुकारुङले इजरायलबाट छोरी बोलिरहँदा आमाले छोरीको आवाज घरमा लगेर सधैँ सुन्न मिल्छ बाबु
भनेर कानेखुशी गरेको रहस्योद्घाटन गर्दा समारोह स्थल रोमाञ्चक बनेको थियो ।बसुको आमाले मलाई कानमा खुसुक्क सोधेको कुरा मुक्तकमा व्यक्त गर्न कठिन छ भन्नु भयो । समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ मुक्तककार सरुभक्तले अफ्नो जिन्दगीको पहिलो कृति नै मुक्तक संग्रह भएकोले आज आफ्ना लागि पनि हर्षको दिन भएको बताउनु भयो । उहाँले थप्नु भयो प्रवासको साहित्यको मूल्याङ्क हुन ढिला भइसक्यो । यस विषयमा के गर्न सकिन्छ सोचिरहेछु । यही बीचमा बसुकी माता भगवतीदेवी श्रेष्ठले महासचिव पौडेललाई हातकोर् इसाराले बोलाएर बाबु मलाई पनि बोल्न मन लाग्यो भन्नु भएपछि रोष्ट्रममा उभिएर आँखाभरि खुशी भर्दै छोरीलाई बधाई र शुभ कामना दिनु भयो । त्यसपछि आधा मूल्यमा पुस्तक वितरण गर्ने जानकारी सचिव बादल घिमिरे दिँदै हुनुहुन्थ्यो यातायातको यस्तो प्रतिकूल समयमा कहाँदेखि हिँडेर आएका पाहुनालाई निशुल्क वितरण गरौँ भन्ने सल्लाह मञ्चमा भएपछि प्रतिष्ठानकी सदस्य कल्पना श्रेष्ठ र कृतिकारी बहिनी कविता श्रेष्ठले सबै पाहुनालाई किताव हात हातमै थमाउनु भयो ।
समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले
सवारी साधनन नचलेको बेलामा पनि हल भरिएको देखेर सबैलाई धन्यवाद दिँदै विमोचन समारोह सोचेभन्दा बढी भव्य र सभ्य भएको बताउनु भयो । उहाँले थप्नु भयो अब नेपाली मुक्तकको थिति बसी सकेकोछ । प्रतिष्ठानको इजरायल शाखाको सक्रियतालाई धन्यवाद दिँदै प्रतिष्ठानको भावी कार्यक्रमका बारेमा जानकारी दिँदै सभा विसर्जन भएको घोषणा गर्नु भयो । सामुहिक तस्विर लिएपछि अतिथिहरूलाई जलपान गर्राई विदाई गरिएको थियो । मुक्तककार बसु श्रेष्ठलाई नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रका तर्फबाट हार्दिक बधाई तथा शुभ कामना ।