Monday, December 26, 2016

गजल

मदिरा पिए  गल्ती  के भो ?
आँशुनै दिए  गल्ती  के भो ?

चाहिन  साथ  कसैको नी
एक्लो भै जिए गल्ती  के भो ?

भन्छौ नी खोटो सिक्का सधै 
सहँदै  खिए  गल्ती  के भो ?

फाट्यो यो मुटु रुखो बोल्यौ
हाँसेरै सिए गल्ती  के भो ?

दियौ नी तिम्ले प्रित् को चोट
खुशीले  लिए गल्ती  के भो ?
बसु श्रेष्ठ 
भैरहवा 

Sunday, November 20, 2016

गजल

मलाई त तिम्रो बानी परेछ क्यारे
त्यसैले खुशी को आँशु झरेछ क्यारे !

हाँस्दा बोल्दा थाहा पनी पाईन मैले 
सुटुक्कै दिल तिमीमा सरेछ क्यारे !

उर्लिदै छन् मन भीत्र तरंगित छाल 
यो मन ले प्रेम गंगा तरेछ क्यारे !

थियो खाली पाना सरी मेरो जिन्दगी
हर पाना तिम्रो नाम् ले भरेछ क्यारे !

आज रोयो अचानक् यो पागल मन 
तिम्लाई पाउने आशा मरेछ क्यारे !

बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

Thursday, November 10, 2016

गजल

भो भो नगर त्यो हाम्रो रमाइलो रातको कुरा
आलिंगन मा बाधिएर गरेको बातको कुरा !!

जुनेली त्यो रातमा आँखा र आँखा जुधाएर
नसम्झाउ मातिएको हाम्रा ति साथको कुरा !!

रंगिन ती प्रहरले सजिएका थिए पल हरु
बेहोस भै हराएको अचम्मित मातको कुरा !!

शिर राखी काखमा तिम्रो मुस्कुराउदा खेरी
घायल नै बनाउने नशालु त्यो घातको कुरा !!

लाजले तिम्रो छाती सँगै मुहार लुकाउदा
मायालु ती स्पर्सले भरिएको खातको कुरा !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही 

Friday, September 16, 2016

"प्रेम छैन "


तिमी भन्छौ मलाई प्रेम छैन
हो फेरी किन हुन्छौ कल्पना मा ?
यी फुलबारी डुल्ने भंवरामा
हत्केलाको मेहंदिको गाढा रंगमा
मलाई छोएर जाने बतासको स्पर्शमा ?
फेरी पनि भन्छौ प्रेम छैन ?
जबजब लहराउछ मेरा केशहरु
तब तब तिम्रो औलाको जुम्बिस आभाष हुन्छ
कतै तिम्रो यो स्पर्श आभाषको मोती
भुइमा खसी छरिएर न जावोस
त्यो डरले आफ्नो हत्केलामा थामी
स्पर्शी काउकुती अनुभुती गर्छु
कसरी भन्छौ प्रेम छैन ?
कहिले काही रात लामो लाग्न थाल्छ
तब यी दन्दनी दन्किरहेको
अधरको तापमा तिमीलाई पाउछु
रात सकिएर जब सुर्यको हुन्छ आगमन
त्यो पहिलो किरणको लालिमा देख्छु प्रतिबिम्ब तिम्रो
मध्यान्न घाम अनि घना रुखको छाँया
लाग्छ तिम्रो शितल छहारीमा छु
फेरी पनि भन्छौ प्रेम छैन?
दुई हात जोड्छु भगवान सामु
म बिर्सन्छु प्राथना शब्द मात्र नाम तिम्रो आउछ
भुलिसके आफ्नो आफन्त
याद छ त मात्र तिमी नै तिमी
पुजेकीछु देव मानेर तिमीलाई
जो कहिले कसैको नहोस भनी
जब म तिमी सामु बिन्ति चढाउछु
तिमी भन्छौ प्रेम छैन
मात्र फेरी फेरी भन्छौ प्रेम छैन !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

Sunday, January 17, 2016

अधुरो प्रेम

जाडो याम बिहान ४.३० बजे घडीको आलरम बज्छ म हतार हतार उठ्छु अनी नित्यकर्म सकेर तयार हुन्छु  !ओहो एक घण्टा छ ट्युसन सम्म पुग्नको लागी, अनी छिटो छिटो घरबाट निस्किएर सुमीको घर पुगेर बेल बजाउछु ! उनि निस्किन्छिन साथमा दुवै बाटो लाग्छौ ! बाटोमा गणेश मन्दिर आउछ त्यहाँ ठुलो घण्टा छ बजाउछु  मैले  तीनपटक कसैलाई मेरो आगमनको सुचना दिन !
हो मेरो अनिशको लागी त्यो मन्दिर दर्शनको निहुमा तिन पटक टंग टंग टंग घण्टा बजाउथे किन कि हाम्रो भेट्ने समय भनेको नै त्यही बिहानीमा थियो ! दिउसो त यो समाजको र परिवारको डर कहाँ अहिले जस्तो डेटिग भन्ने चलन हुनु ! एकअर्कालाई हेरेर नै चित्त बुझाउनु पर्ने बाध्यता दिनै देख्ने मान्छेलाई मनको कुरा पत्रमा लेखिन्थ्यो ! आहा त्यो प्रेम कती निश्चल पबित्र र अनौठो हुन्थ्यो ! न बनावटी अंग्रेजी शब्दमा आइ लभ यु को आवश्यकता न कुनै महंगा उपहारको चाहना थियो बस एक झलक को लालच मात्र !
यसरी नै प्रेम कोपिलाबाट फक्रिदै थियो हाम्रो भेट सात महिना अगाडी मात्र भएको थियो ! अनिश भर्खर मात्र काठमाण्डौ बाट पढाई सकेर आफ्नो घर रुपन्देही फर्केको थियो !
एकदिन म साथीहरु सित कुरागर्दै हिडिरहेको थिए अचानक शेरचन होटेल बाहिर कसैको चर्को हाँसो सुने मैले त्यहा हेर्दा एक गहुगोरो वर्णको ६ फिट अग्लो दुब्लो युवकले मलाई हेरिरहेको थियो हाम्रो नजर जुध्यो !
मलाइ असजिलो लागेर म टाउको घुमाएर अगाडी बढे तर फेरी किन हो फर्केर हेर्न मन लाग्यो र फर्की हेरे अझै पनी उसले मै तिर हेरिरहेको थियो, हो त्यही दिन देखी मायाको अंकुर फुटेको थियो हामी दुइको मनमा र यसरी नै हाम्रो प्रेम कहानी शुरु भएको थियो !
 एकदिनको कुरा त्यो रमाइलो मौसम न घाम लागेको थियो न पानी नै पर्न सकेको थियो, अनिश सेतो सर्ट र क्रिम रंगको पेन्टमा टाढाबाट आउदै थियो ! यती सुन्दर मनमोहक देखे  कि त्यही दिन मैले आफ्नो सपनाको राजकुमार बिपनामा मै भेटेको आभाष गरे ! साच्चै नै त्यो लुगा अनिशलाई सुहाएको थियो वा मेरो मन चंचल अथवा मौसमको दोष थियो बुझ्न सकिन  ! उ नजिक आएर के छ सन्चै छौ भनेर सोध्दा झसंग भए ,तर मेरो गाला लाजले रातो भएर शीर निहुराएर हजुर ठिक छु भने ! त्यो पल र त्यो मौसम कहिले बिर्सन नसक्ने भयो मेरो जीवनको अविस्मरणीय रह्यो !
यसरी नै हाम्रो निस्वार्थ प्रेम अगाडी बढिरहेको तिन बर्ष भैसकेको थियो अचानक मेरो जीवनमा आंधी आयो !
मैले आफ्नो साथी बाट सुने कि उ लागु औषधी सेवनको  कुलतमा फसेको रहेछ,प्रहरी लाइ हातपात गरेको अभियोगमा थुनामा परेको छ ! मैले त्यो बिश्वास गर्न सकिन तर त्यो सत्य रहेछ मेरो आँखामा कालो बादल छायो,मैले सजाएको सपना का महलहरु भत्कियो ! न म भेटेर उसलाई सम्झाउन सक्थे किन कि हाम्रो जती कुरा हुन्थ्यो बस पत्रमा हुन्थ्यो ! अनि मैले उसलाई पत्र लेखे
प्रिय अनिश
मनभरिको सम्झना
    ... हजुर यसरी कुलतमा लाग्नु भएको थाहा थिएन आज अचानक थाहा पाउदा म छाँगा बाट खसे ! किन मेरो माया मा केहि कमी थियो कि या कुनै पींडा थियो हजुरलाई नशा सेवन गर्न बाध्य बनायो ?
मलाई जिन्दगि भरी साथ् दिन्छु तिमी बाहेक मेरो जीवनमा कोही हुने छैन भन्नु हुन्थ्यो !  पहिला तिमी राम्रो सित पढ म पनी आफ्नो खुट्टामा उभिन्छु अनी तिमीलाई तिम्रो बुवा ममी सित मागेर बिहे गर्छु भनेर भन्नु भएको थियो ! अब त हजुरको यो कारणले ममी बुवाले पनी दिनु हुन्न म हजुर बाहेक अरुको बारेमा सोच्न पनी सक्दिन म के गरु किन एस्तो गलत बाटो लाग्नु भएको ? अब कसरि माग्न आउनु हुन्छ ? थुनामा परिसकेको केटा लाइ कसरि दिनु हुन्छ र? तर जे भयो भयो अब आफुलाई सुधार्ने कोशिस गर्नुस नशा बाट निस्किनुस , भागेर भए पनी बिहे गर्न तयार छु यदी घरकोले दिएनन् भने तर पहिला आफुलाई नशा बाट टाढा राख्नुस, हजुर लाइ म पर्खिनेछु चाहे १०,१२ बर्ष भए पनी आशा र भरोशा को साथमा !
उही हजुरको
रोशनी
अनी पत्र उसैको बहिनीको हातमा दिएर ठुलो आशाको साथमा घर फर्किए ! त्यसको दुई दिन पछि जवाफ पाए बन्द खाम मा म हतार हतार आफ्नो कोठाको छिस्किनी लगाएर खाम च्यातेर पत्र पढ्न थाले ! मैले एक्कासी चारै तिर अन्धकार देखे मैले टेकेको कोठाको भुइ भासिए जस्तो भयो र म थचक्क बसेर खुब रोए !
पत्रको जवाब यसप्रकार थियो
प्यारी रोशी
सप्रेम
.खासै म केहि भन्न चाहन्न हो म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु तर म यो नशा बाट बाहिर निस्किन सक्दिन मेरो जिन्दगी नशा बनिसक्यो,तिमी बिना जिउन सक्छु तर नशा बिना म सास लिन पनी सक्दिन ! सपना देखाएको थिए तिमीलाई मैले पनी देखेको थिए तर मलाई माफ गरिदेउ तिमीलाई मैले मेरो जीवनमा ल्याएर दुख र आँशु दिन चाहन्न र मेरो प्रतिक्षा पनी नगर ! तिमी अगाडी बढ बुवा ममीले रोज्नु भएको केटा सित बिहे गरेर मलाई सपना सम्झिएर बिर्सिदेउ
तिमीलाई बीच बाटोमा छोडी हिडेको
उही दोषी अनिश
हो त्यही दिन हाम्रो प्रेमको अन्त्य भएको थियो साएद मैले चाहेर पनी उसलाई भेट्न सकिन ! उसले मलाई भेट्न खोज्यो वा खोजेन थाहा भएन किन कि म उसलाई बिर्सन पढाइको बहानामा काठमान्डौ आएर पढ्न थाले ! दुई बर्ष पछि सुनेकी थिए उसलाई सुधार केन्द्रमा लगिएकोछ भन्ने ! यो सुनेर फेरी मेरो मुटु चिरियो तर म आँशु लाइ भित्र भित्र नै पिए ! यसरी नै मेरो प्रेम फक्रिदा फक्रिदै ओइलाएर झर्यो लेख्दै गरेको प्रेम कथा अधुरो रह्यो अपुरो रह्यो !
'समाप्त'

गरीब

उज्यालो निलो आकाश
सुर्यको राप तप्तपाएको धर्ती
हजारौ आशा बोकी
पक्का आज त 
मेरो भोको पेटको तड़पन लाइ 
शान्त गर्न सक्छु
म हुनुको पहिचान 
आफ्नो अस्तित्व र स्वामित्व माथी
 गौरवान्त गर्न सक्छु !

म केहि जिन्दगी खोज्न सकु 
म केही जिन्दगीलाई संभार गर्न सकु 
आफ्नो कर्तब्य,निष्ठा पुरा गर्न सकु
मेरो जिम्मेवारी लाइ 
आत्मसात गर्न सकु
मेहनतले पेटको आतंकलाइ
शान्त गर्नसकु 
आफन्तको मुहारमा खुशी
सन्तुष्टी र आनन्दका भावमा
म रमाउन सकु
म त्यहाँ जिउन सकु !

यस्तै एस्तै आशा र सपनाको साथ
म घरको दलिन नाघी निस्कन्छु
अली पर पुग्छु फर्की हेर्छु
उदांगिएको छानो
पुरानो जस्ताले
कहिँ कतै आधा छोपेको 
पत्रिकाले छोपेका भित्ताहरु
टुटेफुटेको उघारिएको दलिन
मलाई आशाले हेरिरहेको हुन्छ !

म आश्वासन दिन्छु 
उदांगिएको छानो टाल्नेछु 
फुटेको दलिन जोड्नेछु
भित्ताहरु रंगाउनेछु
अवश्य तेरो आशा पुरा हुनेछ
भन्दै म मनमनै गुनगुनाउदै  
निस्कन्छु म
मेरो गरिबी बेच्न शहर बजारमा 
मेरो लाचारी बेच्न शहरमा बजारमा !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही