Sunday, January 17, 2016

गरीब

उज्यालो निलो आकाश
सुर्यको राप तप्तपाएको धर्ती
हजारौ आशा बोकी
पक्का आज त 
मेरो भोको पेटको तड़पन लाइ 
शान्त गर्न सक्छु
म हुनुको पहिचान 
आफ्नो अस्तित्व र स्वामित्व माथी
 गौरवान्त गर्न सक्छु !

म केहि जिन्दगी खोज्न सकु 
म केही जिन्दगीलाई संभार गर्न सकु 
आफ्नो कर्तब्य,निष्ठा पुरा गर्न सकु
मेरो जिम्मेवारी लाइ 
आत्मसात गर्न सकु
मेहनतले पेटको आतंकलाइ
शान्त गर्नसकु 
आफन्तको मुहारमा खुशी
सन्तुष्टी र आनन्दका भावमा
म रमाउन सकु
म त्यहाँ जिउन सकु !

यस्तै एस्तै आशा र सपनाको साथ
म घरको दलिन नाघी निस्कन्छु
अली पर पुग्छु फर्की हेर्छु
उदांगिएको छानो
पुरानो जस्ताले
कहिँ कतै आधा छोपेको 
पत्रिकाले छोपेका भित्ताहरु
टुटेफुटेको उघारिएको दलिन
मलाई आशाले हेरिरहेको हुन्छ !

म आश्वासन दिन्छु 
उदांगिएको छानो टाल्नेछु 
फुटेको दलिन जोड्नेछु
भित्ताहरु रंगाउनेछु
अवश्य तेरो आशा पुरा हुनेछ
भन्दै म मनमनै गुनगुनाउदै  
निस्कन्छु म
मेरो गरिबी बेच्न शहर बजारमा 
मेरो लाचारी बेच्न शहरमा बजारमा !!
बसु श्रेष्ठ 
भैरहवा रुपन्देही 

2 comments: